काठमाडौं– श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शेरबहादुर कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारमा सरकार लागिपरेको बताएका छन्।
आइतबार मन्त्रालयमा श्रमिकसँग श्रममन्त्री कार्यक्रम अन्तर्गत श्रमिकहरूसँग कुराकानीपछि सञ्चारकर्मीमाझ बोल्दै मन्त्री कुँवरले विदेशमा समस्यामा परेका श्रमिकहरूको उद्धारका लागि सरकार लागिपरिरहेको बताएका हुन्।
उनले समस्यामा परेका श्रमिकहरूको अवस्थाको सम्बन्धमा नेपालका राजदूतसँग छलफल गर्ने र सम्बन्धित देशको राजदूतलाई बोलाएर पनि समस्या समाधानका लागि पहल गरिने बताए। मन्त्री कुँवरले आवश्यकता अनुसार सम्बन्धित देशको सरकारसँग पनि कुराकानी गर्ने बताए।
मन्त्री कुँवरले विदेशिएका श्रमिकहरूबाट नै देश चलिरहेको भन्दै श्रमिकहरू हेपिएको, चेपिएको विषयलाई गम्भीर ढंगले कुरा उठाउनुपर्ने बताए। सरकार श्रमिकको समस्यालाई टुलुटुलु हेरेर मात्र नबस्ने उनको दाबी छ।
मन्त्री कुँवरले विदेशी कम्पनीहरूले नेपाली कामदारलाई बाहिर आउन नदिने भएको अवस्थामा त्यहाँको सरकारसँग कुरा गर्ने बताए। उनले गल्ती काम गरेका मेनपावरहरूलाई कारबाही गरिने समेत दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।