काठमाडौं- श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा गएर समस्यामा परेका ९ जना श्रमिकको गुनासो सम्बोधन गरेका छन्। आइतबार मन्त्रालयमा ‘श्रमिकसँग श्रम मन्त्री’ कार्यक्रम अन्तर्गत उनले ९ जना श्रमिकका गुनासो सम्बोधन गरेका हुन्।
कार्यक्रममा श्रमिकले मन्त्रीसँग भिजिट भिसामा दुबई गएर ठगिएको, रोमानिया पठाउने भनेर म्यानपावरले ठगेको, साउदीमा म्यानपावरले भने जस्तो काम नपाए समस्यामा परेको, पैसा नदिएका कारण मलेसिया जान नपाएको जस्ता गुनासा राखेका थिए।
मन्त्री कुँवरले मन्त्रालयमा ठगिएको भनेर आएका गुनासालाई मन्त्रालयले सहजीकरण गर्ने बताएका छन्। साथै उनले वैदेशिक रोजगारीमा पठाउने नाममा जताततै ठगी हुँदा सरकारलाई अफ्ठ्यारो भइरहेको समेत बताएका छन्।
उनले म्यानपावरले श्रमिकबाट विदेश पठाउँछु भनेर पैसा लगेको प्रमाण नभएका कारण कारबाही गर्न समस्या भएको बताएका छन्। मन्त्री कुँवरले श्रमिकलाई म्यानपावरले पैसा मागेपछि प्रमाण राखेर मात्रै पैसा दिन आग्रह गरेका छन्।
उनी अहिलेसम्म तीन हप्ता श्रमिकका गुनासा सुन्ने कार्यक्रममा सहभागी भएका छन्। अहिलेसम्म २९ जना श्रमिकले नेपाल र विदेशबाट प्रत्येक्ष मन्त्रीसँग आफ्ना गुनसाहरु राखेका छन्।
श्रमिकका गुनासालाई मन्त्री कुँवरले तत्काल सम्बोधन गर्ने खालका भए तत्कालै र समय लाग्ने भए वैदेशक रोजगार विभाग र बोर्डमा समाधानका लागि पहल गर्न अनुरोध गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।