काठमाडौं– मस्कोस्थित नेपाली राजदूतावासले रसिया हुँदै युरोप छिर्ने प्रलोभनमा परेर नआउन नेपालीलाई आग्रह गरेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै दूतावास कार्यालयले रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएका नेपाली अलपत्र परेको घटना उल्लेख गरेको छ।
त्यसरी रसिया पुगेका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न विज्ञप्तिमा भनिएको छ।
‘रसियाबाट सजिलै युरोप जान सकिने सम्भावना रहेको र रसियामा आकर्षक रोजगारीको अवसर रहेको भन्ने प्रलोभनमा परी मोटो रकम बुझाएर आएको तर यहाँका परामर्श केन्द्रहरुले कबुल गरे बमोजिमको अवसर नरहेको र भाषागत समस्या हुनाले दैनिकी कष्टकर रहने छ,’ विज्ञिप्तमा भनिएको छ,‘त्यसरी आएका नेपाली परिवारबाट सम्पर्कविहीन भएको एवं ठूलो मानसिक तनावमा रहेको भनी विद्यार्थी परिवारबाट खोजीको लागि अनुरोध आएको भन्दै त्यस्तो प्रलोभनमा नपर्न अनुरोध गर्दछौं।’
रुसी महासंघमा राम्रा विश्वविद्यालय रहेको र नितान्त रुपमा अध्ययनका लागि आउने विद्यार्थीलाई अवसर रहेको तर भाषिक ज्ञानको अभावमा र यहाँको वास्तविकता नबुझी आउँदा समस्यामा पर्ने हुँदा सचेत हुन विज्ञप्तिमा अनुरोध गरिएको छ। त्यस्तै अलपत्र परेका नेपालीहरु सम्पर्कमा आउन दूतावासले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।