काभ्रे- पनौती नगरपालिका- २, धाराचौरमा जारी काभ्रे जिल्लाव्यापी पालिकास्तरीय भलिबल प्रतियोगिता अन्तर्गत बुधबार लिग चरणका चार खेल सम्पन्न भएका छन्।
आज भएका खेलमा खानीखोला गाउँपालिका, पनौती नगरपालिका, महाभारत गाउँपालिका र बेथानचोक गाउँपालिकाका टिम विजयी भएका छन्।
लिगको पहिलो प्रतिस्पर्धात्मक खेलमा खानीखेलाले मण्डन देउपुर नगरपालिकालाई २५-१४, १९-२५ र २५-२३ ले पराजित गर्यो। दोस्रो खेलमा भने पनौती नगरपालिकाले बाजी मार्न सफल भयो। पनौतीले बनेपा नगरपालिकालाई २५-२३ र २५-२० को सोझो सेटमा पराजित गर्यो।
यस्तै, बुधबार नै भएको अर्को खेलमा महाभारत गाउँपालिकाले पनौती नगरपालिका- २ लाई २५-१४ र २९-२७ अंकले पराजित गर्यो भने चौथो खेलमा बेथानचोकले २५-१६ र २५-२२ को स्कोरले धुलिखेल नगरपालिकाको न्यु गौखुरेश्वर युवा क्लबलाई हराएको थियो।
बिहीबार आजको खेलका विजेता र उपविजेताबीच खेल हुनेछ।
बिहान पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारीले औपचारिक उद्घाटन गरेपछि खेल सुरु भएको थियो। उद्घाटनअघि कुशादेवी मन्दिरदेखि खेल मैदानसम्म बाजागाजासहितको झाँकी प्रस्तुत गरिएको थियो।
पनौती नगरपालिकाको आयोजना, कुशादेवी युवा क्लब र लप्सेटार युवा समूहको समन्वयमा सञ्चालित प्रतियोगिता आगामी ५ गतेसम्म चल्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।