काठमाडौ– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चालु आर्थिक वर्षमा विशेष अदालतबाट फैसला भएका १२२ वटा मुद्दामा सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ।
आयोगले मंगलवार गरेको पत्रकार भेटघाट कार्यक्रममा विशेष फैसला चित्त नबुुझेपछि सर्वोच्चमा पुनरावेदन गरेको जानकारी गराएको हो ।
आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले चालु आवमा विशेष अदालतबाट १६३ वटा मुद्दाको फैसला प्राप्त गरेकामा २० वटामा मात्रै सफलता प्राप्त भएको बताए। उनले त्यसमध्ये १२२ वटा मुद्दामा मुद्दामा आयोगको चित्त नबुझेका कारण पुनरावेदनमा गएको स्पष्ट पारे। १८ वटा मुद्दामा भने आयोगसँग पर्याप्त प्रमाण नपुग्ने भएकाले पुनरावेदन नगर्ने निर्णय भएको उनले जानकारी दिए।
प्रवक्ता भण्डारीले आयोगले २४ वटा मुद्दामा पुनरावेदन जानेगरी काम गरिरहेको र ती मुद्दाको फैसलाको पूर्णपाठ पर्खेर बसेको बताए।
अघिल्लो आवका दुईवटा मुद्दा पनि यसै वर्ष पुनरावेदन गरेको उनले जानकारी दिए। सामाजिक सुरक्षा भत्ता हिनामिना र गैरकानूनी सम्पत्ति आर्जनका ती मुद्दामा विशेषको फैसलामा चित्त बुझाउन नसकिएकाले सर्वोच्च गएको उनले बताए।
पुनरावेदनमा गएका १२२ वटा मुद्दामध्ये गलत प्रतिवेदनका २, झुटा बिल भरपाइका २, घुस/रिसबतका ११२ तथा नक्कली बैंक ग्यारेन्टी, जग्गाधनी स्रेस्ता सच्याएको र राजस्व चुहावटका १–१ वटा रहेको उनले जानकारी दिए।
त्यसैगरी, सार्वजनिक पुल निर्माण र गुणस्तरहीन सामान खरिदका पनि समान १–१ वटा मुद्दा रहेको उनले जनाए।
प्रवक्ता भण्डारीले गत आवमा विशेष अदालतबाट १४८ वटा मुद्दाको फैसला प्राप्त गरेकोमा ५७ मा मात्र सफलता प्राप्त गरेको पनि जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।