काठमाडौं– रोजगारीका लागि विदेश जाने महिलाका लागि थुप्रै चुनौती देखिएको भन्दै यसलाई न्यूनीकरण गर्न महिलाको रोजगारीलाई सुरक्षित र मर्यादित बनाउनुपर्नेमा जोड दिइएको छ।
पोखरामा राष्ट्रिय महिला आयोगले आयोजना गरेको वैदेशिक रोजगारमा संलग्न महिलाको सुरक्षित, मर्यादित र सेवाको सुनिश्चित्ताका लागि वैदेशिक रोजगारीको क्षेत्रमा कार्यरत निकायगत र तहगत सरोकारवालासँगको सार्वजनिक सुनुवाइ कार्यक्रमा सहभागीले उक्त विषयमा जोड दिएका हुन्।
वैदेशिक रोजगारका लागि दुबई र कतार गएर फर्किएकी देवी सुनारले वैदेशिक रोजगार अवसरसँगै चुनौती भएकाले यसमा देखिएका समस्याको समाधानमा आयोगले नीतिगत तहबाट पहल गर्नुपर्नेमा जोड दिइन्। आफूले सम्बन्धित देशको भाषा र कामको दक्षता नहुँदा आफूले निकै दुःख भोग्नु परेको अनुभव उनले सुनाइन्।
कुवेतबाट फर्किएकी पार्वती दमाईले आफूलाई वैदेशिक रोजगारसम्बन्धी नीतिनियम कानुन केही थाहा नहुँदा श्रम शोषणमा परेको अनुभव सुनाइन्। घरेलु कामदारको रुपमा रहँदा आफूले भोग्नु परेको पीडा सुनाउँदै उनले सरकारका कतिपय नीति नियमबारे आफूहरु अञ्जान रहँदा पनि पीडित हुनुपरेको उनको भनाइ थियो।
उनले कमजोर आर्थिक अवस्थाका कारण विकल्प खोज्दै खाडीमुलुक जाँदाका पीडा दर्दनाक भएको र परिवारका सदस्यसँग सम्पर्कमा रहनसमेत नपाउँदा आफ्नै चिन्ताले आमा गुमाउनु परेको पीडा पोखिन्।
जिल्ला समन्वय समितिका प्रमुख लीलाधर पौडेलले हरेक क्षेत्रमा समस्या देखिएको जनाउँदै त्यसलाई व्यवस्थित गर्ने नीतिनियम र त्यसको कार्यान्वयनको पक्षमा जोड दिन आवश्यक रहेको औंल्याए।
उनले वैदेशिक रोजगारमा जाने महिलाको लागि पहिला त्यस देशको भाषा संस्कार संस्कृतिको बारेमा सामान्य भए पनि जानकारी लिनुपर्ने र कुन कामको लागि जाने त्यो काम दक्ष भएर वैधानिक बाटोबाट जाँदा जोखिम कम हुने भनाइ राखे।
शिक्षा संस्कृति विज्ञान प्रविधि तथा सामाजिक विकास मन्त्रालयका सचिव हेमराज सुवेदीले सरकारले निषेध गरेका बाहेकका मुलुकमा जाँदा श्रम स्वीकृति लिएर र सीप सिकेर जाँदा समस्या कम हुने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।