काठमाडौं– बिहीबारदेखि देशभरका विमानस्थलमा यान्त्रिक उडान सुरु हुने भएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले उडानसम्बन्धी उपकरण (नेभिगेसन इक्विपमेन्ट) जडान भएका देशभरका विमानस्थलमा आजदेखि यान्त्रिक उडान गर्ने जानकारी दिएको छ।
विमानस्थलमा जडान भएका उपकरणले काम गरे/नगरेको परीक्षण गर्न एरोथाइको टोली नेपाल आइसकेको प्राधिकरणले जनाएको छ।
कम्तीमा छ महिना र बढीमा हरेक दुई वर्षमा गर्नुपर्ने नियमित परीक्षण उडान गर्न एरोथाईको प्राविधिक उपकरण जडान गरिएको जहाजसहितको टोली हिजो नै भैरहवामा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरिसकेको छ। टोलीमा एरोथाइका पाइलट, इन्जिनियर तथा प्राविधिक छन्।
भैरहवा विमानस्थलका महाप्रबन्धक गोविन्द दाहालका अनुसार एरोथाइको टोलीले आज गौतमबुद्व विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्नेछ। प्राधिकरणले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यान्त्रिक परीक्षण उडान गर्दा देशभरका अन्य विमानस्थलमा पनि यान्त्रिक परीक्षण उडान हुन लागेको उनले बताए।
काठमाडौं, पोखरा, भैरहवा, सुर्खेत, नेपालगञ्ज, धनगढी र चन्द्रगढी विमानस्थलमा यान्त्रिक परीक्षण उडान हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।