काठमाडौं– शनिबार सम्पन्न आम निर्वाचनमा मलेसियाका वरिष्ठ तथा पाका नेता महाथिर मोहम्मदले पराजय व्यहोरेका छन्।
स्वतन्त्र मलेसियाका अग्रणी नेता ९९ वर्षीय महाथिर संसदीय राजनीतिमा प्रवेश गरेको ५३ वर्षपछि पहिलोपटक पराजय व्यहोरेका हुन्। महाथिर सन् १९६९ मा पहिलो पटक संसद्मा प्रवेश गरेका थिए।
आधुनिक मलेसियाका निर्माता महाथिर यो निर्वाचनमा आफ्नो परम्परागत क्षेत्र लाङ्कावीको हलिडे रिसोर्ट टापुमा चौथो स्थानमा मात्र रहन सके।
महाथिरको पराजयसँगै अन्तरराष्ट्रिय संचार संस्था रोयर्टसले मलिसियाको ७ दशक लामो राजनीतिक इतिहासको अन्त्य भएको लेखेको छ।
योसँगै महाथिरले सक्रिय राजनीतिबाट बिदा लिनेछन्। रोयर्टससँग गत महिना दिएको एक अन्तर्वार्तामा महाथिरले आफू निर्वाचनमा हारे सक्रिय राजनीतिमा नरहने घोषणा गरेका थिए।
यो निर्वाचनमा निवर्तमान संसद्को प्रमुख विपक्षी दलका नेता अन्वर इब्राहिमले नेतृत्व गरेको गठबन्धन, पूर्वप्रधानमन्त्री मुहिद्दीन सिनको नेतृत्वमा रहेको गठबन्धन र वर्तमान सत्तागठबन्धन प्रतिस्पर्धामा थिए।
तर, कुनै पनि दलले एकल जित निकाल्न सकेनन्। जसले गर्दा मलेसियामा त्रिशंकु सरकार बन्ने सम्भावना रहेको छ। यसले मलेसियामा सत्ता निर्माण गर्न संकट आउने देखिएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।