काठमाडौं– काठमाडौंमा नेपाल अन्तर्राष्ट्रिय नाट्य महोत्सव–२०७९ शुक्रबार दिउँसो उद्घाटन गरिएको छ।
फेस्टिभललाई काठमाडौं महानगरपालिकाका प्रमखु बालेन्द्र शाह (बालेन), भारतका सुप्रशिद्ध रंगकर्मी तथा अभिनेत्री शबाना आजमी र संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री जीवनराम श्रेष्ठ लगायतले उद्घाटन गरेका थिए।
फेस्टिभलको उद्घाटन गर्दै अभिनेत्री आजमीले नेपालको थिएटर फेस्टिभलमा सहभागी हुन पाउँदा निकै खुसी भएको बताइन्। नेपाली नाटकहरूले फरक पहिचान बोकेको भन्दै यहाँको कलाको प्रशंसासमेत गरिन्।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले कलाकोमाथि महानगरले सक्दो लगानी गर्ने प्रतिवद्धता व्यक्त गरे।
उनले भने, 'म पनि भर्खर बुझ्दैछु। कलाको काम महानगरमा सामाजिक शाखाले गर्दो रहेछ। कलालाई प्राथमिकता दिनुपर्छ। यसकारण मैले कलाको छुट्टै शाखा बनाउनुपर्ने रैछ भन्ने कुरा अनुभूत गरेको छु, ' बालेनले भने। उनले फेस्टिभलका लागि महानगरले पनि थोरै सहयोग गर्न पाउँदा खुसी लागेको बताए।
‘सामाजिक रुपान्तरणको लागि रङ्गमञ्चः विविधिताको उत्सव’ भन्ने नाराका साथ ९ दिनसम्म महोत्सव चल्नेछ।
१२ देशका १८ नाटकको ३० मञ्चनसहित कार्यशाला, मास्टर क्लास, अन्तरक्रिया–विमर्शका कार्यक्रमको तालिका सार्वजनिक गरेको महोत्सवमा विश्वभरीबाट २०० भन्दा बढी नाट्य कलाकारहरु सहभागी हुँदैछन्। महोत्सवले मंसिर १७ सम्मको लागि बिहान ८ बजेदेखि साँझ ७:३० बजेसम्म नाटक मञ्चन तथा विविध कार्यक्रमको तालिका निकालेको छ।
महोत्सवमा नेपालसहित भारत, भुटान, श्रीलंका, रुस, इटाली, स्पेन, बेलायत, बेलारुस, इजिप्ट, संयुक्त राज्य अमेरिका र अर्जेन्टिनाका नाटकहरू समावेश छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।