काठमाडौं– काठमाडौँमा विपत् जोखिम व्यवस्थापनमा स्थानीय सरकारको क्षमता अभिवृद्धि कार्यक्रम सुरु भएको छ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले युएस एड र आइओएमको सहकार्यमा सबै पालिकामा सञ्चालन गरिरहेको कार्यक्रमअन्तर्गत काठमाडौं महानगरका जनप्रतिनिधि र कर्मचारीहरूका लागि सोमबार र मंगलबार सञ्चालन हुने महानगरले जनाएको छ।
कार्यक्रम आरम्भ गर्दै महानगरकी उपप्रमुख सुनिता डंगोलले विपत् रोक्न नसकिने तर पूर्व तयारी गरी क्षति घटाउन सकिने भएकोले यसका लागि तालिमले महत्वपूर्ण भूमिका खेल्ने बताइन्।
‘सुरक्षित समुदायका लागि वडा स्तरीय विपत् व्यवस्थापन समितिलाई सक्रिय बनाउनुपर्ने अहिलेको आवश्यकता हो। वडा समितिहरूलाई यो संयन्त्र सक्रिय बनाउनु आग्रह गर्दछु,' उनको भनाइ थियो।
'विपत्सम्बन्धी धारणा परिवर्तन आवश्यक छ। भूकम्प र आगलागी मात्र विपत् होइन। महामारी पनि विपत् नै हो। जोखिमबाट समुदायलाई बचाउन संघीय नीति र कार्यक्रम स्थानीयकरण कसरी गर्न सकिन्छ भन्नेतर्फ अबको ध्यान जानु पर्छ,' डंगोलको भनाइ थियो।
कार्यक्रममा विपत् सम्बन्धी बुझाइ, सरकारका नीति र प्राथमिकता, विपत् सुशासन र यसको स्थानीय तहमा भएको अभ्यास, विपत् व्यवस्थापन समितिको काम कर्तव्य, विपत् कोष सञ्चालन, विपत् लेखाजोखालगायतका विषय समेटिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।