काठमाडौं– सर्वोच्च अदालतको आदेशपछि पुन: नागरिकता प्राप्त गरेका रवि लामिछानेलाई फेरि उपप्रधानसहित गृहमन्त्री बनाउन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सकारात्मक देखिएका छन्। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का नेता लामिछानेलाई गैरसांसदका रुपमा गृहमन्त्रीमा निरन्तरता दिएर सत्ता समिकरण टिकाउनुपर्ने ओलीको निष्कर्ष छ।
माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) भने उक्त विषयमा असहमत देखिएको छ। लामिछानेका विषयमा दोहोरो राहदानीको विषय पनि उठिरहेकाले केही समय ‘विश्राम’ लिनुपर्ने राय आफूहरुले राखेको राप्रपाका एक नेता बताउँछन्।
उनका अनुसार रास्वपाले गृह मन्त्रालयमा लामिछानेलाई निरन्तरता दिने विषयमा सत्ता साझेदार दलमा अनौपचारिक छलफल चलाएको छ। त्यसमा एमाले अध्यक्ष ओली सकारात्मक छन्।
लामिछानेको मुद्दालाई द्रूत गतिमा किनारा लगाउनुलाई एमालेले सत्ता समिकरणमा फेरबदल ल्याउने चालका रुपमा लिएको छ। धेरैले पीआर लिँदा नेपाली नागरिकता नत्यागेको उल्लेख गर्दै लामिछानेका हकमा विषय बनाइएको एमाले महासचिव शंकर पोखरेलले बताएका छन्। उनको भनाइ छ, ‘रवि लामिछानेको हकमा यसलाई विषय बनाइयो। किन बनाइयो भन्दाखेरी कतै यो विषयलाई अगाडि बढाएर सत्ता समीकरणमा फेरबदल ल्याउन सकिन्छ कि भन्ने अर्थमा यसलाई मुद्दा बनाइयो।’
लामिछानेकै विषयमा छलफल गर्न प्रधानमन्त्री प्रचण्डलाई भेट्न उच्चस्तरीय राजनीतिक संयन्त्रकका संयोजक समेत रहेका एमाले अध्यक्ष ओली बालुवाटार पुगेका छन्।
रास्वपाले गृहमन्त्रीमा लामिछानेलाई निरन्तरता नदिए सत्ताबाट बाहिरिने संकेत समेत आन्तरिक रुपमा प्रवाह गरिरहेको छ। लामिछानेले आइतबार नै नागरिकता पुन: प्राप्त गरेका छन्। नागरिकता प्राप्त गरेपछि उनलाई पार्टीले सभापतिमा पुन: बहाल गराउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।