काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख सत्ता साझेदार दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ। सत्ता साझेदार दलहरुको उच्चस्तरीय राजनीतिक संयन्त्रका संयोजक समेत रहेका ओली प्रधानमन्त्री प्रचण्ड भेट्न सरकारी निवास बालुवाटार पुगेका हुन्।
सत्ता साझेदार दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नागरिकतासम्बन्धी विवादको मुद्दामा दोषी ठहर भएर उपप्रधान एवम् गृहमन्त्री र प्रतिनिधि सभा सदस्य पदबाट हटेपछि सत्ता साझेदार दलहरुबीच भावी गृहमन्त्रीलाई लिएर विवाद देखिएको छ।
सर्वोच्चको फैसलापछि पुन: नेपाली नागरिकता लिएका लामिछाने गैरसांसद मन्त्रीको रुपमा पुन: सरकारमा सहभागी भएर गृह मन्त्रालय सम्हाल्न पाउनुपर्ने पक्षमा छन्। लामिछानेले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीलाई भेटेर आफूलाई पुन: गृहमन्त्री बनाउन माग गरिरहेका छन्।
एमाले अध्यक्ष ओली लामिछानेलाई पुन: गृहमन्त्री बनाउने पक्षमा छन्। प्रधानमन्त्री प्रचण्ड भने लामिछाने र उनको दल राष्ट्रिय स्वतन्त्र पार्टीलाई गृहमन्त्री नदिने पक्षमा छन्।
ओलीसँगको भेट अगाडि प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दल राप्रपाका अध्यक्ष तथा उपप्रधान एवम् उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री राजेन्द्र लिङ्देनसँग छलफल गरेका थिए।
गृहमन्त्रीको नियुक्ति तथा राष्ट्रपतिको निर्वाचन लगायत विषयमा छलफल गर्न ओली बालुवाटार पुगेका हुन्। निर्वाचन आयोगले राष्ट्रपति निर्वाचनको मिति फागुन २५ गतेका लागि निर्धारण गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।