काठमाडौं- मन्त्रिपरिषद्का सदस्यले नै संविधान विरोधी अभिव्यक्ति दिएको भन्दै सत्तारुढ दलकै सांसदहरूले विरोध जनाएका छन्। बुधबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै एमाले सांसद रघुजी पन्त र माओवादी केन्द्रका सांसद शक्ति बस्नेतले विरोध जनाएका हुन्।
सडक र संसद्मा संविधानका प्रावधानका विषयमा हुने बहस स्वीकार्य हुने बताउँदै त्यसको कार्यान्वयन गर्ने सरकारमा बसेर विरोधी अभिव्यक्ति दिने काम स्वीकार्य नहुने उनीहरुले बताएका छन्।
सांसद बस्नेतले भने, ‘संसद् र सडकमा यो बहस एक हदसम्म स्वीकार्य छ। सांसदहरुले त्यहाँ आ-आफ्नो मूल्य र मान्यता स्थापित गर्लान्। स्वधीनता, अखण्डता र जनतामा निहित सार्वभौम सत्ता बाहेक उदार पनि रहेको छ। क्याबिनेट र क्याबिनेटका सदस्यले गर्ने टिप्पणी स्वीकार्य हुँदैन।’
संविधानको मार्ग निर्देशनबाट बनेका सरकारका सदस्यले गरेको टिप्पणीलाई सामान्य रुपमा लिन नसकिने उनको भनाइ थियो। त्यसअघि बोल्न पुगेका रघुजी पन्तले मन्त्रिपरिषद्मा बसेर संविधानको वर्खिलाप बोल्ने कुरा गलत रहेको बताए। उनले संघीयता र धार्मका विषयलाई लिएर सरकारमा बस्नको टिप्पणी देशलाई विभाजनतर्फ लैजाने बताए।
‘यो तरिकाले धार्मिक द्वन्द्व र अन्धभक्ततामा जान सक्छौं। धर्मले धेरै ठाउँ जोडेको छ र तोडेको छ। यही देशका सपुतले प्रतिपादन गरेको बुद्धिज्म शान्तिको सूत्र बनेको छ। धार्मिक सहिष्णुताको बाटो देखाउने देशमा कुनै धर्मलाई काखी च्याप्नुपर्दैन। ८० प्रतिशत हिन्दु भएको सत्य हो तर त्यसमा रहेका कमजोरी हटाउँदै जानुपर्छ। जीवनका लागि धर्म हो, धर्मका लागि जीवन होइन।’
केही दिनअघि एक अन्तर्वार्तामा राष्ट्रिय प्रजातन्त्र पार्टीका तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ध्रुवबहादुर प्रधानले संघीयता खारेजी तथा हिन्दु धर्मका पक्षमा अभिव्यक्ति दिएका थिए।
जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले राज्य संयन्त्रको दुरुपयोग गरेर संविधान विरोधी अभिव्यक्ति दिइएको भन्दै बर्खास्तीको माग गरेका छन्।
उनले भने, ‘संविधानमा संघीय लोककतान्त्रिक गणतन्त्र लेखिएको छ। मन्त्री त्यसको बर्खिलाप बोल्दै हिँडेको छ। यो राजनीतिक बेइमानी हो। यो धुर्त्याइँ हो। यस्ता अनुशासनहीन मन्त्रीलाई बर्खास्त गर्नुपर्छ। समानुपातिक समावेशी दहेजबाट आएको होइन। आन्दोलनबाट स्थापित आएको हो। त्यसैले मनमा होला भनेन जनताको बीचमा जानुपर्छ।’
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्पष्टीकरण सोध्न भनेर राष्ट्रिय सभामा बोलेको विषयमा समेत उनले जानकारी माग गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।