काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्रष्टाहरूको सम्मानले राष्ट्रको गरिमा र उचाइ बढ्ने बताएका छन्।
बिहीबार दिउँसो नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानले नक्सालमा आयोजना गरेको गठबन्धन नामक चित्रकला तथा प्रतिकला प्रदर्शनी कार्यक्रमको उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले यस्तो बताएका हुन्।
‘ललितकलाको क्षेत्रमा नेपाललाई स्थापित गर्न तपाईंहरूले महत्त्वपूर्ण भूमिका खेल्नुभएको छ। देशभित्र मात्र होइन, विश्वभरि स्थापित गर्न तपाईंहरूले खेलेको भूमिका प्रशंसनीय छ’, प्रधानमन्त्री प्रचण्डले भने।
उनले आफू पहिलोपटक प्रधानमन्त्री हुँदा ललितकला प्रतिष्ठान स्थापना गर्ने जग बसालेको स्मरण गरे।
अहिले स्थापनाको १२ वर्ष पुगेको उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्डले भने, ‘मलाई निकै खुशी र गर्वको महसुस भएको छ। अझ चित्रकला तथा प्रतिकलाका क्षेत्रमा विशिष्ट योगदान पुर्याउनुभएका तपाईं विशिष्ट व्यक्तित्वहरूलाई सम्मान गर्न पाउँदा निकै खुशी छु। यसले राष्ट्रकै गरिमा र उचाइ बढाउँछ।’
कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले ललितकलाका क्षेत्रमा महत्त्वपूर्ण योगदान गर्ने स्रष्टाहरू सम्मानित गर्नुका साथै ललितकला सम्बन्धी सिर्जनाहरूको अवलोकन गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।