काठमाडौं– नवाजुद्दीन सिद्दिकीलाई बलिउडका उत्कृष्ट अभिनेतामा गनिन्छ।
उनले धेरै फिल्ममा यादगार भूमिका निर्वाह गरेका छन्। तर यतिबेला नवाजको आफ्नी श्रीमती आलिया सिद्दीकीसँग लामो समयदेखि विवाद चलिरहेको छ। यी दुईबीचको झगडा अदालतसम्म पुगेको छ।
पछिल्लो अपडेट अनुसार आलिया सिद्दिकीका वकिल रिजवान सिद्दिकीले नवाजुद्दीन र उनको परिवारमाथि गम्भीर आरोप लगाएका छन्। वकिल सिद्दिकीले नवाजुद्दीन र परिवारका सदस्यले आलियालाई धेरै दिनदेखि खाना नदिएको बताएका छन्। उनको ओछ्यान पनि खोसिएको थियो जबकि उनलाई बाथरुम पनि चलाउन दिइएको थिएन।
नवाजुद्दीन सिद्दिकीले आफ्नी श्रीमती आलियालाई यातना दिएका थिए।
वकिल रिजवान सिद्दिकीको आरोप छ, ‘अभिनेता नवाजुद्दीन सिद्दीकीले आफ्नो परिवारसँग मिलेर श्रीमती आलिया सिद्दिकीमाथि धेरै अत्याचार गरेका छन्, आलियाले घर छोड्न अस्वीकार गरेपछि उनले यातना दिएका थिए।’
यसका साथै प्रहरीको सहयोगमा आलियाविरुद्ध मुद्दा पनि दर्ता भएको थियो। प्रहरीले पनि आलियालाई धम्की दिँदै हरेक दिन प्रहरी चौकी हाजिर हुन दबाब दिइरहेको थियो।
प्रहरीको कार्यशैलीको आलोचना गर्दै वकिलले आलियाका धेरै उजुरीमा प्रहरीले कुनै कारबाही नगरेको बताए। आलियालाई कुनै पनि प्रहरी अधिकारीले सहयोग नगरेको बताए। नवाजकी आमा र आलियाबीच सम्पत्तिलाई लिएर विवाद भइरहेको छ।
दुवै पक्षले प्रहरीमा उजुरी दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।