काठमाडौं- नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराले राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्ने बताएका छन्। स्थायी समितिको बैठकपछि बिहीबार प्रतिक्रिया दिँदै उनले अदालतको फैसलाको पूर्णपाठ नआएको दोहोर्याए।
राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार छाड्ने संकेत गरेको बारे उनको प्रतिक्रिया थियो- ‘राष्ट्रिय स्वतन्त्र पार्टीले धैर्य गर्नुपर्छ। किनकि अदालतको फैसलाको पूर्णपाठ आएको छैन। मुद्दा सिद्धिएको पनि छैन। अनि मन्त्रिमण्डलमा के गर्ने भन्ने विषयमा निर्णय लिन बाँकी नै छ।’
राष्ट्रिय स्वतन्त्र पार्टीले बिहीबार केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बोलाएको छ। बैठकबाट सरकारमै रहने वा बाहिरिने निर्णय गर्ने बताइएको छ। बिहीबार नै सामाजिक सञ्जालमा स्टाटस लेख्दै सभापति रवि लामिछानेले अब आफू मौन नरहने बताएका थिए।
गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले लामिछानेको नागरिकता प्रकरणमा फैसला सुनाएपछि उनले सांसद, मन्त्री र पार्टी सभापति पद गुमाएका थिए। आइतबार नागरिकता पुनःप्राप्ति गरेपछि उनले आफैंलाई सो पद दिलाउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीसमक्ष पहल गरिरहेका छन्।
प्रधानमन्त्री प्रचण्डले भने लामिछानेलाई सो मन्त्रालय दिन नसकिने बताउने गरेका छन्। उनले लामिछानेको नागरिकताको विषय टुंगिएको भए पनि राहदानीको सन्दर्भमा अनुसन्धान भइरहेकाले पुनः सोही मन्त्रालय दिँदा अनुसन्धान प्रभावित हुने बताउने गरेका छन्।
एमाले अध्यक्ष ओलीले भने सत्ता बाँडफाँटका बेलामा गृह मन्त्रालय राष्ट्रिय स्वतन्त्र पार्टीको भागमा परेकाले सो मन्त्रालय उसैलाई दिनुपर्ने बताएका छन्।
बिहीबार मात्रै उनले भनेका थिए- ‘कसलाई बनाउने भन्ने कुरा राष्ट्रिय स्वतन्त्र पार्टीको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ। त्यो पार्टीले रवि लामिछानेलाई पहिले तोकेको हो। त्यसअनुसार बनाएका हौँ। फेरि पनि रवि लामिछानेलाई नै दिनुपर्छ भन्छ भने त्यो उसको कुरा हो। हामीले गृह मन्त्रालय उसलाई दिएका हौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।