काठमाडौं– पश्चिम तराईका रानाथारु समुदायले खक्डेहरा पर्व मनाउँदैछन्। होली (होरी)को अन्तिम दिनका रुपमा खक्डेहरा पर्व मनाइन्छ।
राना थारु समुदायमा होरी महत्वपूर्ण पर्व हो। विशेष गरी सुदूरपश्चिम प्रदेशका कैलाली र कञ्चनपुर जिल्लाका राना र कठरिया थारु समुदायमा ‘होरी’लाई विशेष रुपमा मनाइन्छ।
दुवै समुदायका मानिसले होरी पर्वलाई १ महिनाभन्दा बढी समयसम्म मनाउँछन्। राना थारु समुदायले माघ पूर्णिमादेखि फागुन पूर्णिमासम्म गरेर १ महिना ८ दिन र कठरिया थारु समुदायले करिब एक महिनासम्म होरी पर्व मनाउँदै आएका छन्।
होरीको अन्तिम दिन खक्डेहरा फुटाइन्छ। खक्डेहराको दिन होरी पर्व बिसर्जन गरेर मिठो, मिष्ठान खाने चलन छ।
खक्डेहराको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले मंगलबार तराईका २ जिल्ला कैलाली र कञ्चनपुरमा सार्वजनिक बिदा दिएको छ। यो पर्वको अवसरमा सुदूरपश्चिम प्रदेश सरकारले २०७६ सालदेखि सार्वजनिक बिदा दिन थालेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।