काठमाडौं– सर्वोच्च अदालतमा विचाराधीन रहेको ‘गुन्डा नााइके’ चक्रे मिलन भनिने मिलन गुरुङको सम्पत्ति शुद्धीकरणको मुद्दामाथि सुनुवाइका लागि बुधबारलाई पेसी तोकिएको छ। विशेष अदालतबाट सफाइ पाएपछि
सरकारले गुरुङविरुद्ध सर्वोच्चमा पुनरावेदन गरेको थियो। विशेष अदालतको फैसला बदरको माग गर्दै सरकारका तर्फबाट २०७५ जेठ ३० गते सर्वोच्चमा पुनरावलोकन निवेदन दायर भएको थियो। उक्त मुद्दा ४ वर्षदेखि सर्वोच्चमा विचाराधीन अवस्थामा छ।
न्यायाधीशद्वय प्रकाशकुमार ढुङ्गाना र नहकुल सुवेदीको बुधबारको इजलासमा मुद्दाको पेसी परेको छ।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले ५ जना गुन्डा नाइकेविरुद्ध २०७० जेठ ५ गते विशेष अदालतमा मुद्दा दायर गरेको थियो जसमध्ये दिपक मनाङेको हकमा पुनरावेदन नै नभएपछि उनले उन्मुक्ती पाए।
गण्डकीका प्रदेश सभा सदस्य रहेका मनाङेका हकमा भने म्याद समाप्त हुदाँसम्म सरकारी पक्षले सर्वोच्चमा पुनरावेदन नगरेपछि उनले उन्मुक्ती पाएका थिए।
मनाङे बाहेक गणेश लामा, पर्शुराम बस्नेत, अभिषेक गिरी र चक्रे मिलन भन्ने मिलन गुरुङविरुद्ध सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको थियो।
सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)को अनुसन्धानमा आधारित भएर २०७० साल जेठ ५ गते लामासहित ५ जना गुन्डा नाइकेविरुद्ध मुद्दा दायर भएको थियो। अवैधानिक गतिविधिबाट सम्पत्ति आर्जन गर्ने, व्यक्तिलाई धम्काएर असुल गर्ने र उक्त सम्पत्ति वैधानिक बनाउन विभिन्न स्थानमा लगानी गरिएको दाबी विभागले गरेको छ।
विशेष अदालतले सम्पत्ति शुद्धीकरण विभागको दाबी नपुग्ने भन्दै चक्रे मिलनलाई सफाइ दिएको थियो। विशेषको फैसला त्रुटीपूर्ण रहेको भन्दै सरकारी पक्ष सर्वोच्च पुगेको थियो। विशेष अदालतबाट उनले २०७४ माघ १० गते सफाई पाएका थिए।
चक्रे मिलनले ८ करोड रुपैयाँ बराबरको अवैध सम्पत्ति आर्जन गरेको दाबी अभियोगपत्रमा गरिएको छ। चक्रे मिलनको नाममा काठमाडौंमा ७ आना जग्गा र उनको परिवारका नाममा काठमाडौं र गोरखामा करिब ३० रोपनी जग्गा गरी ७ करोड अवैध सम्पत्ति रहेको दाबी गरिएको थियो।
सर्वोच्चमा पछिल्लोपटक उक्त मुद्दा २०७९ साउन ३० गते पेसीमा चढेको थियो। न्यायाधीशद्वय हरिकृष्ण कार्की र मनोज शर्माको इजलासमा पेसी परेपनि हेर्न नमिल्ने हुँदै स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।