काठमाडौं– प्रधानमन्त्री थ्रि नेसन्स कप फुटबल प्रतियोगिता चैत्र ८ गतेदेखि १७ गतेसम्म हुने भएको छ। सोमबार पत्रकार सम्मेलन गरी अखिल नेपाल फुटबल संघ (एन्फा)ले यसबारे जानकारी गराएको हो।
थ्रि नसेन्स कपमा नेपाल, भुटान र लावसले प्रतिष्पर्धा गर्नेछन्। तीन राष्ट्रहरुले दशरथ रंगशालामा सिंगल राउण्ड रोविनको आधारमा खेल हुनेछ। उत्कृष्ट दुई देशबीच फाइनल खेल हुनेछ।
प्रतियोगिता फिफा विन्डो अन्तर्गतका मितिहरुमा खेलिने पनि एन्फाले जनाएको छ। प्रतियोगिताका लागि दुवै देश नेपाल आइसकेको पनि एन्फाले जनाएको छ।
प्रतियोगिताको लागि एन्फाले साधारण पारापिटतर्फ ५ सय र भीआईपी पारापिटतर्फ १ हजार रुपैयाँ टिकट दर तोकिसकेको छ। खेलका टिकटहरु खल्ती एपबाट वा रंगशालामा रहेको खल्तीका स्टलहरुबाट पनि किन्न सकिने बताएको छ।
प्रतियोगितामा प्रथम हुने राष्ट्रलाई ५ हजार अमेरिकी डलर, द्वितीय पुरस्कार ३ हजार अमेरिकी डलर र हरेक खेलको म्यान अफ द म्याचलाई २५० अमेरिकी डलर र प्रतियोगिताको उत्कृष्ट खेलाडीलाई ५ सय अमेरिकी डलर गरी कूल ९ हजार ५ सय अमेरिकी डलर पुरस्कार प्रदान गरिनेछ।
पुरस्कार राष्ट्रिय खेलकुद परिषद्ले उपलब्ध गराउने एन्फाले जनाएको छ। प्रतियोगिताको अनुमानित बजेट एक करोड ७७ लाख, ६८ हजार ४ सय ८० रुपैयाँ रहेको एन्फाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।