बारा– नवजागृति युवा क्लब सिमराद्वारा यही चैत ९ गतेदेखि सञ्चालन हुने जगदम्बा १३ औं जितपुर सिमरा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ।
सिमरा रङ्गशालामा यही २०७९ चैत १८ गतेसम्म हुने गोल्डकप प्रतियोगितामा प्रथम हुने टिमलाई रु १० लाख, द्वितीय हुनेलाई रु पाँच लाख, सर्वोत्कृष्ट खेलाडीलाई मोटरसाइकल/स्कुटी पुरस्कार प्रदान गरिने आयोजक क्लबका अध्यक्ष रामचन्द्र लामाले जानकारी दिए।
गोल्डकपको मुख्य प्रायोजक जगदम्बा स्टिल सिमरा पावर्ड बाई जगदम्बा मोटर्स तथा मुख्य सहयोगी जितपुर सिमरा उपमहानगरपालिका रहेका छन्।
प्रतियोगितामा विधागत पुरस्कार २० हजार, म्यान अफ द म्याच १० हजार र स्थानीय उदीयमान खेलाडी पुरस्कार १५ हजार प्रदान गरिने भएको छ।
फुटबल प्रतियोगितामा गत वर्षको विजेता एनआरटी, गत वर्षको उपविजेता एपिएफ, हिमालयन शेर्पा क्लब, ब्वाइज युनाइटेड, सातदोबाटो युथ कल्ब, केबिए ग्लोबल, बिएएफसी चितवन, मकवानपुर–११ हेटौंडा, बागमती युवा क्लब सर्लाही, वीरगञ्ज युनाइटेड र आयोजक क्लबसमेत गरी १० वटा टिमले भाग लिने छन्।
प्रतियोगिता सञ्चालन गर्न रु एक करोड छ लाख ७७ हजार लाग्ने आयोजकले बताएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।