काठमाडौं– जनता समाजवादी पार्टी नेपाल (जसपा) को केन्द्रीय कार्यकारिणी समिति बैठक आज बस्दैछ। बालकुमारीस्थित पार्टी कार्यालयमा बुधबार दिउँसो १ बजे बैठक बस्नेछ।
वैशाख १० मा हुने उपनिर्वाचन र समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो।
गत मंसिर ४ मा जसपाबाट तत्कालीन केन्द्रीय कार्यकारिणी समिति सदस्य रामसहायप्रसाद यादव बारा क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य निर्वाचित भएका थिए। चैत ३ मा उपराष्ट्रपति बनेपछि उनले सांसद र पार्टीबाट राजीनामा दिएका छन्। यो क्षेत्रमा पनि वैशाख १० मै उपनिर्वाचन हुँदैछ।
बारा २ मा कसलाई उम्मेदवार बनाउने भन्नेबारे आज छलफल हुनेछ। यो क्षेत्रमा अध्यक्ष उपेन्द्र यादव उम्मेदवार हुने चर्चा छ। उपेन्द्र गत मंसिरको चुनावमा सप्तरी निर्वाचन क्षेत्र नम्बर २ मा जनमत पार्टीका अध्यक्ष सिके राउतसँग पराजित भएका थिए।
जसपाले सरकारमा जाने विषय, मन्त्रालय र मन्त्री कुन-कुन लिने भन्नेजस्ता विषयमा पनि छलफल गर्ने तयारी गरेको छ। साथै विधान अधिवेशनबारे पनि छलफल हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।