काठमाडौं– प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले सरकारी सेवामा करारमा कार्यरत श्रमीकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने बताएका छन्।
बुधबार सामाजिक सुरक्षा कोषले काठमाडौंमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले हालसम्म सरकारी सेवामा करारमा कार्यरत श्रमिकहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा धेरै दुःख लागेको बताए। अब उनीहरूलाई पनि सामाजिक सुरक्षा कोषमा आवद्ध गर्ने प्रधानमन्त्रीको प्रतिवद्धता छ।
सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिने बताए। उनले कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिने उल्लेख गरे।
‘सामाजिक सुरक्षा कोषमा आवद्धताको संस्कार बसाल्न कानुनले निर्देशित गरेको सहयोगदानको प्रावधानलाई कार्यान्वयनमा ल्याइ सबै क्षेत्रको अपनत्व स्थापित गरिनेछ। कोषको लगानीलाई राज्यको भौतिक पूर्वाधार विकास, उद्यमशीलता लगायतका उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने नीतिगत व्यवस्था गरिनेछ’, उनले भने, ‘सरकारी सेवामा, करारमा कार्यरत श्रमीकहरूलाई समेत हालसम्म सामाजिक सुरक्षा कोषमा आवद्ध गर्न नसकिएकोमा मलाई विशेष दुःख लागेको छ। यस सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने काममा म लाग्ने नै छु। या विश्वास पनि म दिलाउन चाहन्छु।’
प्रधानमन्त्री दाहालले रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य नरहेको बताए। उनले रोजगारीका लागि विदेश गएका युवाहरूलाई दुःख दिने दिन गएको दाबी गरे। उनले सरकारले विदेश जानेहरूलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको उल्लेख गरे।
‘रोजगारीका लागि विदेशमा जाने युवाहरूलाई ठगी गर्ने, ढिलासुस्ती गर्ने काम सरकारलाई सह्य छैन, स्वीकार्य छैन। अब दुःख दिने दुःख पाउने दिन गए। सबैको आत्मसम्मानमा बढोत्तरी गरेर काम गर्नेछौँ’, प्रधानमन्त्री प्रचण्डले भने, ‘यहाँहरूको योगदानको कदर हुनेछ। यहाँहरूको ज्ञान, सीप, पूँजी र प्रविधिको यहाँहरूको हीतमा प्रयोग गर्न यो सरकारको प्राथमिकता पनि हो। प्रतिवद्धता पनि हो। सरकारले विदेश जानेहरूलाई तालिम दिइ दक्ष बनाएर मात्रै पठाउने गरी तयारी गरिरहेको छ। यसका लागि ६ महिनाभन्दा कम अवधिको तालिम प्रदान गर्न तालिम प्रदायक निकायको पुनः संरचना गर्नको लागि मन्त्रालयले गरेको तयारी अनुरुपको कार्यलाई यथाशिघ्र अघि बढाउने प्रतिवद्धता व्यक्त गर्छु।’
प्रधानमन्त्री दाहालले श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले सार्वजनिक गरेको ५ वर्षे रणनीति योजनाको पूर्ण कार्यान्वयनमा सरकारको सहयोग रहने प्रतिवद्धता जनाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।