काठमाडौं- प्रधानमन्त्री पुष्ककमल दाहाल प्रचण्डले दलितलाई न्याय नदिन बहाना बनाउने र कृत्रिम प्रमाणहरु जुटाउने प्रवृत्ति रहेको बताएका छन्।
बुधबार राष्ट्रिय सभामा पेस भएको दलित समुदायका विभेद र उत्पीडनको अन्त्य गरी सामाजिक-सांस्कृतिक, आर्थिक, राजनीतिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्ने सम्बन्धी संकल्प प्रस्तावमाथि भएको छलफलपछि जवाफ दिने क्रममा उनले अजित मिजार प्रकरणलाई जोड्दै राज्यको प्रवृत्तिमाथि टिप्पणी गरेका हुन्।
'काभ्रेको घटनामा दोषीलाई कारबाही गर्ने भनेर समितिमार्फत प्रक्रिया अगाडि बढायो। तर हाम्रो ब्युरोक्रेसी, सुरक्षा संयन्त्र र हाम्रो समग्र समाजको लिडरसिपको दिमागमा दलितहरुलाई सम्मान गर्ने र न्याय गर्ने भन्ने कुरा धेरै राम्रोसँग बसेको छैन। त्यसैले विभिन्न खालका बाहनाहरु बन्छन्। विभिन्न खालका तर्कहरु बनाइन्छ। विभिन्न खालका कृत्रिम प्रमाणहरु जुटाइन्छ र त्यसलाई रोक्ने कोसिस गरिन्छ', उनले भने।
सम्बोधनका क्रममा प्रधानमन्त्री प्रचण्डले आफूले कसैलाई दोष दिन र आरोपित गर्न नखोजेको बताए। 'तर हाम्रो समग्र मानसिकता र हाम्रो संस्कार, हाम्रो राज्यको समग्र संस्कृति जहाँनेर छ, त्यो उच्च जाति र वर्गको, उनीहरुको कुरालाई सहज रुपमा स्वीकार गर्ने र श्रमिक, गरिब र दलितहरुको कुरा हो भने त्यो चाहिँ साँचो भए पनि झुटो बनाउने विचित्रको संस्कार मैले दोस्रो पटक (प्रधानमन्त्री) हुँदा भोगेँ र धेरै मिहिनेत गरेर केही कारबाही त गरियो। तर धेरै अगाडि जान सकेन।'
बुधबारको बैठकमा भुवनबहादुर सुनार प्रस्तावक र अन्य १८ सांसद समर्थक रहेको प्रस्ताव पेस गरिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।