काठमाडौं– राप्रपाका नेताहरू र पूर्वराजा ज्ञानेन्द्र शाहले देशको पछिल्लो अवस्थाबारे छलफल गरेका छन्। केही समयदेखि झापामा रहेका पूर्वराजालाई भेट्न राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन, नेताहरू डा प्रकाशचन्द्र लोहनी, धवल शमशेर राणा र रवीन्द्र मिश्र झापा पुगेका थिए।
उनीहरूले करिब २ घण्टा पूर्वराजा शाहसँग छलफल गरे। छलफलको फोटो सार्वजनिक भएपछि नेपाल लाइभसँग कुरा गर्दै राप्रपा अध्यक्ष लिङ्देनले समसाययिक राजनीतिक विषयमा छलफल भएको बताए।
‘पूर्वराजासँग यसअघि पनि भेट भएको र अहिले पनि भएको हो। भेटमा स्वाभाविकक रुपमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे कुराकानी भयो’, लिङ्देनले भने, ‘कुराकानीका क्रममा राजा ज्ञानेन्द्रले देशको वर्तमान अवस्थाका बारेमा चिन्ता र चासो राख्नु भएको थियो।’
उनले भेट स्वाभाविक भएको भन्दै देशको बिग्रँदो अवस्थाका बारेमा सदाझैं चिन्ता आफूहरूले पाएको बताए। केही समयअघि सरकारमा गएको राप्रपा अहिले प्रतिपक्षमा रहेको छ।
पछिल्लो समय राजा फर्काउने अभियान व्यवसायी दुर्गा प्रसाईंले सञ्चालन गर्न थालेपछि शाह झापा गएर बस्दै आएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।