काठमाडौं– नेकपा (माओवादी केन्द्र)का उपमहासचिव गिरिराजमणि पोखरेलले सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र र साझा कार्यक्रम बनाउनुपर्ने बताएका छन्।
बुधबार न्युज एजेन्सी नेपालसँग कुरा गर्दै उपमहासचिव पोखरेलले वर्तमान सरकार सञ्चालनका लागि राजनीतिक संयन्त्र बनाउनुपर्ने धारणा राखे। उनले गठबन्धनको सरकार भएको हुनाले न्यूनतम साझा कार्यक्रम पनि आवश्यक रहेको उल्लेख गरे।
उनले सरकार सञ्चालनका लागि आचारसंहिता समेत चाहिने बताए। उपमहासचिव पोखरेलले कस्ता व्यक्तिहरूलाई मन्त्री बनाउने भन्ने विषयमा पनि छलफल आवश्यक रहेको बताए। उनले भ्रष्टाचारबाट मुक्त भएकाहरूलाई मन्त्री बनाउनुपर्नेमा जोड दिए।
शान्ति प्रक्रियाका कामलाई अगाडि बढाउने, सुशासन, सेवा प्रवाह र प्रणाली निर्माण गर्नुपर्ने मुख्य कार्यभार सरकारको रहेको भन्दै सोही अनुरुपको जिम्मेवारी निर्वाह गर्न सक्नेहरूलाई सरकारमा लानुपर्ने पोखरेलको भनाइ थियो।
उनले नयाँ मन्त्रिपरिषद् गठन हुँदा माओवादी केन्द्रबाट मन्त्री भएकाहरूलाई फिर्ता नबोलाइने बताए। मन्त्रीहरूले विगतमा राम्रोसँग काम गर्न नपाएका भन्दै मन्त्रीहरू बदल्ने कुरा नभएको स्पष्ट पारे। यद्यपि, दलहरूका बीचमा सहमति भएमा माओवादीका अन्य मन्त्रीहरू पनि थप हुनसक्ने बताए।
उपमहासचिव पोखरेलले वर्तमान सत्तारुढ गठबन्धन बाध्यता र आवश्यकताले बनेको उल्लेख गर्दै यो गठबन्धन पाँचै वर्ष जाने दाबी गरे। सत्तारुढ दलहरू एउटै डुंगामा बसेर जानुको विकल्प नभएको उनको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।