काठमाडौं– सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले पार्टीभित्र प्रशिक्षक उत्पादनका लागि प्रशिक्षण कार्यक्रम चलाइरहेको छ। माओवादी केन्द्रको केन्द्रीय स्कुल विभागको आयोजनामा केन्द्रीय कार्यालय पेरिसडाँडामा मंगलबादेखि ‘केन्द्रीय प्रशिक्षक प्रशिक्षण कार्यक्रम’ चलिरहेको छ। यस कार्यक्रममार्फत् जिल्ला– जिल्लामा पार्टीको प्रशिक्षक उत्पादन गर्न लागिएको जनाइएको छ।
प्रशिक्षण कार्यक्रममा प्रत्येक जिल्लाबाट १ जना, प्रत्येक प्रदेशबाट २/२ जना, जनवर्गीय संगठनका केन्द्रीय अध्यक्षहरू र केन्द्रीय स्कुल विभागका सदस्यहरूको उपस्थिति रहेको छ। ११ गतेसम्म चल्ने प्रशिक्षणमा माओवादी केन्द्रका शीर्ष नेताहरू तथा विषयविज्ञहरूले प्रशिक्षण दिने पार्टीका उपमहासचिव गिरिराजमणि पोखरेलले जानकारी दिए।
स्कुल विभागले तय गरे अनुरुपको पाठ्यक्रममा आधारित भएर २६ वटा कक्षा प्रशिक्षार्थीहरूलाई दिइने उनले बताए। उपमहासचिव तथा केन्द्रीय स्कुल विभागका संयोजक पोखरेलले पार्टीको विचारधारात्मक स्तर निकै कमजोर हुँदै गएकोले यस किसिमको प्रशिक्षण आवश्यक परेको बताए।
नेकपा(माओवादी केन्द्र)का केन्द्रीय सदस्य कुमार पौडेलले पार्टी नेता, कार्यकर्ताहरूलाई वैचारिक रुपमा अध्ययन गराउन प्रशिक्षणको जरुरी परेको बताए। उनले पार्टीको सिद्धान्त, नीति, कार्यक्रम, मार्क्सवाद, लेनिनवाद र माओवादका आधारभूत सिद्धान्तहरू जनता र कार्यकर्ताहरूमा एकरुपताका साथ लैजान प्रशिक्षण चाहिने उल्लेख गरे।
केन्द्रीय सदस्य तथा केन्द्रीय स्कुल विभागका सचिव रामदीप आचार्यले प्रशिक्षणमा सरकार सञ्चालन, बजेट निर्माण र जनसहभागिताको विषयमा छलफल गरिने बताए। त्यस्तै, विज्ञान र प्रविधिलाई बुझ्ने र त्यसको प्रयोग गर्ने सन्दर्भमा पनि छलफल हुने उनको भनाइ छ।
नेकपा(माओवादी केन्द्र) बागमती प्रदेश समिति सदस्य विदुर खड्काले युवाहरूलाई नेतृत्व तहसम्म पुर्याउनका लागि पनि यस्ता किसिमका वैचारिक प्रशिक्षणहरू आवश्यक पर्ने बताए। माओवादी केन्द्रले केन्द्रीय समितिमा २० प्रतिशत युवाहरूलाई सुनिश्चित गरेको उल्लेख गर्दै उनले माथिल्लो समितिहरूमा पनि युवाहरूलाई भूमिका दिन पार्टीले कोशिस गरिरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।