काठमाडौं– बेलारुसमा अलपत्र ९ जना नेपाली महिलालाई नेपाल फर्काइएको छ।
शुक्रबार उनीहरूलाई नेपाल फर्काइएको हो। नेपाल फर्काइनेमा सानुमाया तामाङ, कविता थापा मगर, अञ्जना मगर, रत्नमाया राई, पार्वती कितुङ, रमिता राई, सुस्मा तामाङ, मिना गुरुङ, मार्फा सोताङ राई रहेका छन्।
नेपाल फर्किएपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेकपा (एकीकृत समाजवादी) की सांसद जयन्तीदेवी राईले नेपाल फर्किएपछि अब बलियो आत्मविश्वास बनाएर अघि बढ्न सुझाव दिइन्। उनले विदेशमा पुर्याइ अलपत्र बनाउने अपराधीलाई सरकारले कारबाही गर्ने आश्वासन दिइन्।
‘नेपाल फर्किनुभएको छ। अब कुनै हौसला, आँट र आत्मविश्वास नगुमाइ काम गर्नुहोला। तपाईहरूलाई हामी न्याय दिनेछौँ, अपराधीलाई कारबाही गर्नेछौँ’, राईले भनिन्।
स्वदेश फर्काइएकी पीडित सानुमाया तामाङले बेलारुसमा आफूहरूले दैनिक १२ घण्टा काम गर्नुपरेको तर भनेको पारिश्रमिक नदिएको र पीडा दिने गरेको सुनाइन्।
उनले नेपालबाट जाँदा एजेण्टहरूले डलरमा पैसा दिने भनेपनि बेलारुसमा गएपछि बेलारुसी रुबेल ७५ रुपैयाँ दैनिक पाउने गरेको बताइन्।
पीडित ९ जना महिलालाई विभिन्न संघसंस्थाहरूको सहयोगमा नेपाल फर्काइएको हो। उनीहरू टिकटक लाइभमा आएर नेपाल फर्काइदिन आग्रह गरेपछि नेपालबाट स्वदेश फर्काउने प्रयास भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।