काठमाडौं– लुम्बिनी बौद्ध विश्वविद्यालयका कानुन संकायका विद्यार्थीहरु आन्दोलनमा उत्रिएका छन्। कानुन संकायमा कानुन विषय नै पढेका शिक्षक नियुक्त हुनुपर्ने लगायत मागहरु राख्दै जेठ ७ गतेदेखि विद्यार्थीहरु आन्दोलित रहेका हुन्।
विभिन्न २४ वटा माग अगाडि सार्दै विद्यार्थीहरु अनसनमा छन्। कम्तीमा ४ जना कानुन पढेका वा त्यस क्षेत्रमा विज्ञता हासिल गरेका शिक्षकहरुको नियुक्ती हुनुपर्ने उनीहरुको प्रमुख माग छ।
कानुन संकायको प्रमुखमा हालका क्याम्पस प्रमुखलाई हटाएर एलएलम उत्तिर्ण गरेको व्यक्तिलाई नियुक्त गर्नुपर्ने, कानुन संकायको संयोजकमा एलएलएम गरेको व्यक्तिलाई नियुक्त गर्नु पर्ने माग राखेर ७ गतेदेखि आफूहरु अनशनमा बसेको बीएएलएलबी तेस्रो संकायमा अध्यनरत छात्रा दीक्षा ज्ञवालीले जानकारी दिइन्।
नेपाल लाइभसँग कुरा गर्दै ज्ञवालीले भनिन्, ‘यहाँ कानुन संकायमा कानुन विषय नै अध्ययन नगरेका शिक्षकहरुले पढाउनुहुन्छ। कानुन संकायको प्रमुखलाई त कम्तीमा कानुनको ज्ञान हुन पर्दछ। हामीले अभ्यास बिनै पढिरहेका छौं। सैद्धान्तिक र व्यवहारिक ज्ञान हासिल गर्नका लागि विषय विषशेज्ञ चाहिन्छ। यी लगायतका विभिन्न २४ वटा माग हामीले रजिस्ट्रारलाई बुझाएका छौं। माग सम्बोधन नहुञ्जेलसम्म हाम्रो आन्दोलन जारी रहन्छ।’
उनले क्याम्पसमा अभ्यास अदालतको समेत माग गरेको जानकारी दिइन्।
यस्तै, व्यवस्थित पुस्तकालय, विद्यार्थी योग्यताक्रमको छात्रवृत्ति, क्याम्पस परिसर भित्रै चमेनागृहको व्यवस्था, विद्यार्थीको शैक्षिक गुणस्तरसँग सम्बन्धित माग विद्यार्थीका छन्।
लुम्बीनी बौद्ध विश्वविद्यालयका विद्यार्थीको आन्दोलनमा नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले समेत ऐक्वद्धता जनाएको छ। अनेरास्ववियुका केन्द्रीय अध्यक्ष समीक बडालले कानुन विषयको आकर्षणले सिर्फ कमाई खाने बाटो नबनाउन र नेपाल बसेर पढ्छु, केही गर्छु भन्नेलाई यसरी जीवन वर्वाद गरेको प्रति ध्यानाकर्षण भएको जनाएका छन्।
लुम्बीनी बौद्ध विश्वविद्यालयको आन्दोलनबारे नेपाल ल क्याम्पस स्ववियुका सदस्य फर्सुराम पाण्डेले विद्यार्थीहरुले न्यूनतम माग उठाएका कारण माग सम्बोधन गर्नुको विकल्प नरहेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।