काठमाडौं– नेकपा एमालेका सांसदहरुको अवरोधका कारण संसद बैठक स्थगित भएको छ। पशुपतिनाथको मन्दिरमा जलहरी निर्माणको विषयलाई लिएर आफ्नो पार्टी र पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आधारहीन आरोप लगाएको भन्दै एमाले सांसदले बैठकमा अवरोध गरेका थिए।
शुक्रबार सभामुख देवराज घिमिरेले प्रतिनिधि सभा बैठक सुरु भएको घोषणा गरेलगत्तै एमाले सांसदहरु आफ्नो आशनबाट उठेका थिए।
त्यसपछि सभामुख घिमिरेले एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीलाई बोल्ने समय दिएका थिए। गिरीले पशुपतिनाथको मन्दिरको जलहरीको विषयमा सत्ता पक्षका सांसदहरुले एमालेलाई आधारहीन आरोप लगाएको बताए।
उक्त अभिव्यक्ति रेकर्डबाट हटाइनुपर्ने गिरीको माग थियो। साथै सत्ता पक्षका सांसदले माफी माग्नुपर्ने पनि उनले अडान राखे। त्यसपछि एमाले सांसदहरु बसेको ठाउँबाट पुन: उठेका छन्।
सत्तारुढ दल माओवादी केन्द्रका सांसद लेखनाथ दाहालले एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा पशुपतिनाथको मन्दिरमा सुनको अलवा पित्तल लगाएर भ्रष्टाचार भएको बताएका थिए।
सोही विषयमा आपत्ति जनाउँदै गिरीले भने, ‘सदन भित्र भ्रष्टचारको विषयहरु मनलाग्दी ढङ्गले बिना प्रमाण, बिना आधार सत्ता पक्षका माननीय ज्यूहरुले प्रमुख प्रतिपक्षी दललाई र दलको नेतालाई इंगित गर्दै भ्रष्टचार गरेको कुरा यही सदनको रोस्ट्रमबाट बताइन्छ,’ गिरीले भने, ‘जेठको १० गते सत्तापक्ष संसद लेखनाथ दाहालले याहि रोस्ट्रमबाट एमालेको सरकार हुँदा केपी ओली नेतृत्वको सरकारले पशुपतिमा जलहरी लगाउने भनेर सुन लगाउने नाममा पत्तिल लगाइएको छ, भ्रष्टचार गरेको भनेर गम्भीर आरोप लगाइएको छ। कुनै प्रमण बेगर, बुनै तथ्य बेगर आरोप लगाउने कुरा कदापि पनि हामीलाई स्वीकार्य हुन सक्दैन।’
प्रमुख सचेतक गिरीले पशुपतिको जलहरीबारे सरकारले जवाफ दिनु पर्ने र माओवादी केन्द्रका सांसद दाहालले माफी माग्नु पर्ने, अन्यथा संसद नचल्ने बताएका थिए।
एमाले सांसदहरुले उठेर विरोध जारी राखेपछि सभामुख घिमिरेले २० मिनेटका लागि प्रतिनिधि सभा बैठक स्थगित भएको घोषणा गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।