काठमाडौं– अमेरिकी संसद्को तल्लो सदन, हाउस अफ रिप्रिजेन्टेटिभ्स, ले सरकारको कर्जा सीमा बढाउने विधेयक बहुमतले पारित गरेको छ। विधेयक पारित भएपछि अमेरिकी सरकारकाे कर्जा संकटको समाधान हुने र सरकार 'डिफल्टर' हुने खतरा टर्न सक्ने विश्लेषण गरिएको छ।
हाउस अफ रिप्रिजेन्टेटिभ्समा विधेयकको समर्थनमा ३१४ र विरोधमा ११७ मत प्राप्त भयो। अमेरिकी राष्ट्रपति जो बाइडेनको दल डेमोक्रयाटसँगै विपक्षी दल रिपब्लिकनका सांसदले पनि समर्थन जनाएपछि विधेयक पारित गर्ने बहुमत जुटेको हो।
हाउस अफ रिप्रिजेन्टेटिभ्समा विपक्षी रिपब्लिकन पार्टीको बहुमत छ। माथिल्लो सदन सिनेटमा भने डेमोक्र्याटको बहुमत छ। रिप्रिजेन्टेटिभ्सबाट विधेयक पारित हुनुलाई महत्त्वपूर्ण मानिएको छ।
यो विधेयक पारित गराउन दुवै पार्टीका बीच सम्झौता गराउन महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने रिपब्लिकन पार्टीका वरिष्ठ नेता केभिन म्याकार्थीले यसलाई ऐतिहासिक भनेका छन्।
सरकारलाई डिफल्टर हुनबाट जोगाउन अब यो विधेयकलाई आगामी सोमबारभन्दा पहिले नै माथिल्लो सदन सिनेटबाट पारित गराउनुपर्नेछ।
राष्ट्रपति बाइडेनले आफू छिटोभन्दा छिटो विधेयक पारित गराउन चाहन्छन्।
अमेरिकी सरकारमाथि ३१.४ ट्रिलियन डलर कर्जा छ। अमेरिकी सरकारले ५ जुनसम्म आफ्नो कर्जाको सीमा पार गर्नसक्ने बताइन्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।