नयाँ दिल्ली– भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड मध्य प्रदेशको इन्दोर पुगेका छन्। प्रधानमन्त्री प्रचण्ड राजधानी दिल्लीबाट विशेष विमानमार्फत् इन्दोर पुगेका हुन्।
इन्दोरस्थित देवी अहिल्याबाई होल्कर विमानस्थलमा उनलाई मध्य प्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानललगायत सरकारी अधिकारीले स्वागत गरे। विमानस्थल बाहिर प्रधानमन्त्री प्रचण्डलाई स्थानीय सांस्कृति झाँकीले स्वागत गरिएको थियो।
प्रधानमन्त्री प्रचण्ड पुग्दा सडकमा उभिएका नागरिकले नेपाल र भारतको झण्ड फहराएर सम्मान प्रकट गरेका थिए। विमानस्थल बाहिरका सडकमा ‘तपाईंलाई स्वागत छ’ लेखिएका ब्यानर राखिएका थिए।
विमानस्थलबाट उनी उज्जैनमा रहेको श्री महाकालेश्वर मन्दिर पुग्नेछन्। त्यहाँ पूजाअर्चनासहित मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्ने कार्यक्रम छ। मन्दिर परिसरको अवलोकनपछि प्रधानमन्त्री दाहाल होटल इन्दोर मेरियटमा रहनेछन्।
प्रधानमन्त्री दाहालसँग शुकरबार मध्यप्रदेशका गभर्नर मङ्गुभाइ पटेलले भेटवार्ता गर्ने कार्यक्रम छ।
इन्दोरमा रहँदा प्रधानमन्त्रीले ‘स्वच्छ भारत अभियान’अन्तर्गत इन्दोर म्युनिसिपल कर्पोरेशनले गरेको फोहर व्यवस्थापनसम्बन्धी सफल अभ्यासबारे जानकारी लिनेछन्। प्रधानमन्त्री दाहालको सम्मानमा मध्यप्रदेशका मुख्यमन्त्री चौहानले रात्रिभोजको आयोजना गर्ने कार्यक्रम समेत रहेको छ।
प्रधानमन्त्री दाहाल नेतृत्वको प्रतिनिधिमण्डलले शनिबार टीसीएस इन्फोसिस विशेष आर्थिक क्षेत्रको भ्रमण गर्ने कार्यक्रम छ। प्रधानमन्त्री प्रचण्ड शनिबार नै स्वदेश फर्किनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।