काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को भारत भ्रमणका क्रममा दुई वटा महत्वपूर्ण पाइप लाइन निर्माणमा सहमति भएको छ। भारत भ्रमणको क्रममा प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षीबीच सिलगुडी-झापा र अमलेखगञ्ज-चितवनमा पेट्रोलियम पाइपलाइन बनाउने सम्झौता भएको हो।
नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले उक्त पाइपलाइन निर्माणमा भारतले १७ अर्ब रुपैयाँ सहयोग गर्ने सम्झौता गरिसकेको जानकारी दिए। ‘भारत सरकारले अनुदान वापत १७ अर्ब रुपैयाँ दिने भएको छ। साथै झापामा ग्रिनफिल्ट टर्मिनल भवन समेत बनाइदिने भएको छ। चितवनको टर्मिनल भने नेपाल सरकार आफैंले बनाउनुपर्नेछ,’ उनले भने।
यस्तै पाइपलाइन बनाएपछि पेट्रोलियम पदार्थ ढुवानीमा भइरहेको नेपाल सरकारको ठूलो खर्च जोगिने उनले बताए। ‘इन्धन ढुवानीमा ठूलो रकम खर्च गरिरहेको सरकारले त्यसलाई कम गर्नका लागि पेट्रोलियम पाइपलाइन निर्माणलाई प्रमुख प्राथमिकतामा राखेको हो। अहिले यसबारे पूरै विवरण भने आइसकेको छैन। सर्वे भइसकेको छ। पाइपलाइन बन्छ,’ उनले भने।
अब इन्धन ढुवानीको सुनिश्चितता हुने उनको भनाइ छ। पहिलो फेजमा मोतिहारी अमलेखगञ्ज पाइपलाइन सञ्चालनमा आएपछि डिजेल मात्रै ढुवानी भइरहेको र दोस्रो फेजमा डिजेल, पेट्रोल ल्याउने उनले बताए।
‘यतिन्जेल पेट्रोल मात्रै आइरहेको थियो। अब सेकेन्ड फेजमा त्यही पाइपलाइनबाट डिजेल, पेट्रोल दुवै अमलेखगञ्जसम्म ल्याउँछौँ। जसले गर्दा ढुवानी खर्च कम हुने उनले बताए।
पहिले भारतको बरुणेदेखि काठमाडौंसम्म ट्यांकरबाट ल्याउँदा हामीलाई प्रतिलिटर साढे ६ रुपैयाँ लाग्ने गरेको र अहिले अमलेखगञ्जबाट डिजेल ढुवानी गर्दा प्रतिलिटर साढे ३ रुपैयाँ भाडा लाग्ने गरेको बताए।
‘पाइपलाइनबाट पेट्रोल ल्याउँदा करिब ५० प्रतिशत सस्तो पर्न जान्छ। अब पेट्रोल ल्याउँदा पेट्रोलको ढुवानी खर्च कम हुन्छ,’ उनले भने।
सिलगुढीदेखि झापासम्म पाइपलाइन र टर्मिनल बनिसकेपछि पेट्रोलियम पदार्थ ढुवानी गर्न विकल्प हुने उनको भनाइ छ। ‘४ वर्षदेखि मतियारी अमलेखगञ्ज पाइपलाइन चलिराखेको छ। कहिलेकाहीँ पाइपमा समस्या आउँदा मेनटेनेन्स गर्नुपर्यो भने सप्लाई नै अबरुद्ध हुन्छ। त्यसकारण यसको विकल्पको रुपमा सिलगुडी-झापा पाइपलाइनले काम गर्छ। एकातिर अबरुद्ध हुँदा अर्कातिरबाट पेट्रोलियम पदार्थ ल्याउन सक्छौँ,’ उनले भने।
तेस्रो फाइदा स्टोरेज बन्ने हुँदा पेट्रोलियम पदार्थ भण्डारण गर्न सजिलो हुने ठाकुरले बताए। सरकारले ९० दिनको स्टोरेज बजेटमा समावेश गरेको छ। जुन अमलेखगञ्जमा मात्रै राखेर ९० दिनलाई त्यहाँ स्टोरेज नपुग्ने र थप स्टोरेज चारआलीमा चितवनमा र झापामा बन्ने हुँदा यसले सहयोग गर्ने उनले बताए।
यस्तै ढुवानी गर्दा इन्धन बाल्न पर्ने हुँदा वातावरणमा प्रभाव पर्ने र पाइपलाइनबाट ल्याउँदा वातावरणमा प्रभाव नपर्ने बताए। यस्तै ग्रिनफिल्ट टर्मिनल चितवन र झापामा निर्माण गर्ने व्यवस्थाले वातावरणमा कुनै कार्बनको असर नपर्ने उनको भनाइ छ।
‘यो टर्मिनल बनाएपछि कुनै पनि कार्बन वातावरणमा मिसिन पाउँदैन र वातावरणमा नकारात्मक असर पुग्दैन। यो पाइपलाइन बनाउने सम्झौता एकदमै फाइदाजनक छ,’ उनले भने।
यस्तै नेपालमा साना मेसिनदेखि ठूलो उद्योगसम्म पेट्रोलियम पदार्थबाट चल्ने भएको हुँदा पेट्रालियम पाइपलाइन बनाउन अत्यावश्यक रहेको ठाकुरको भनाइ छ।
नेपाल आयल निगम र इन्डियन आयल कर्पोरेसनबीच लामो समयदेखि उक्त पाइपलाइन निर्माणका विषयमा छलफल हुँदै आए पनि सहमति हुन नसकेको र अहिले प्रधानमन्त्रीको भ्रमणमा सम्झौता भएको उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।