काठमाडौं– सर्वोच्च अदातलले पूर्वआइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुष अर्याललाई व्यक्ति हत्याको अभियोगमा सफाइ दिएको छ।
न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र टंकबहादुर मोक्तानको इजलाशले एमबिबिएस अध्ययनरत विद्यार्थी अनिमेष ठाकुरको हत्यामा मुद्दा नचल्ने निर्णय सदर गरेको हो।
ठाकुरका पिता गरिबदास ठाकुरले आफ्नो छोराको हत्या आइजिपी अर्यालको छोराले गरेको दाबी गर्दै प्रहरी कार्यालयमा किटानी जाहेरी दिएका थिए।
उक्त किटानी जाहेरमा अनुसन्धान नभएको भन्दै ठाकुरले २०७२ पुसमा सर्वोच्चमा रिट दायर गरेका थिए।
तत्कालीन समयमा प्रहरीको प्रमुख रहेका अर्यालले आफ्नो प्रभाव देखाउँदा हत्याको घटना लुकाएको दाबी गर्दै किटानी जाहेरी दिएका थिए। अर्याल २०७० मंसिरदेखि २०७३ फागुनसम्म प्रहरी प्रमुख भएका थिए।
यस्तो थियो घटना
२०७२ साल असार १९ गते राति करिब ९ बजे पोखरास्थित मणिपाल अस्पताल नजिकै रहेको एक घरको छतबाट खसेर अनिमेष ठाकुरको मृत्यु भयो।
ठाकुर तत्कालीन समयमा मणिपाल अस्पतालमा ‘इन्टर्न’ गरिरहेका थिए।
मृतक ठाकुर पिता गरिबदास स्वास्थ्य मन्त्रालयका सहसचिव थिए। ठाकुरको मृत्यु आयुषका मिल्ने केटी साथी प्रतिसा प्रधान बस्ने घरको छतबाट भएको थियो।
ठाकुरको हत्या भएको र हत्यामा तत्कालीन आइजिपी उपेन्द्रकान्त अर्यालका छोरा आयुषको संलग्नता रहेको हुनसक्ने भन्दै पडित परिवारले त्यसबेला जिल्ला प्रहरी कार्यालयलमा किटानी जाहेरी दिएका थिए।
मृतकका बुवाले छोराको हत्यामा तत्कालीन आइजिपीका छोरा आयुष उनकै केटी साथी प्रतिसाको संलग्नता हुनसक्ने दाबी गर्दै उनीहरूमाथि अनुसन्धानको माग गरेका थिए।
प्रतिसासँग आयुष र अनिमेषको त्रिकोणत्मक प्रेम सम्बन्ध रहेकै कारण हत्या भएको दाबी गरिबदासको थियो। कुनै समयका असल साथी अनिमेष र प्रतिसाको सम्बन्ध पछिल्लो समय बिग्रिएको थियो।
२०७२ असार १९ गते राति फोनमा झगडा भएपछि अनिमेष प्रतिसाको कोठामा पुगेका थिए। त्यहाँ जाँदा आयुष पनि त्यही रहेका प्रहरी अनुसन्धानबाट खुलेको थियो।
पछि अनिमेषको छतबाट खसेर मृत्यु भएको भनिएको थियो। यसविरुद्ध जिल्ला प्रहरीका कार्यालय कास्कीले जाहेरी दर्ता गर्न नमानेपछि उनी तत्कालीन पुनरावेदन अदालत पोखरामा रिट निवेदन दर्ता गराएका थिए।
उक्त रिट सुनुवाइको क्रममा विपक्षी जिल्ला प्रहरी कार्यालय कास्कीले जाहेरवाला गरिबदास ठाकुरले हुलाकमार्फत पठाएको जाहेरी दर्ता गरिएको भन्दै जवाफ पठाएपछि उक्त रिट खारेज भएको थियो।
ठाकुरले केटीसाथीलाई एकतर्फी प्रेम गरेको र त्यसलाई अस्वीकार गर्दै छतमा आफैं आत्महत्या गरेको दाबी प्रहरीको थियो। तर, अनुसन्धान नभएपछि ठाकुरले सर्वोच्चमा परमादेशको आदेश माग गर्दै रिट दायर गरेका थिए।
उक्त रिटमा फैसला गर्दै थप अनुसन्धानका लागि आदेश जारी गर्न नपर्ने तत्कालीन पुनरावेदन अदालत पोखराको आदेश सदर गर्ने निर्णय गरेको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।